Thursday, January 19, 2012

भाउ त बढ्यो तर के सजिलै पाइएला त ?

पेट्रोलियम पदार्थको भाउ बढेपछि धेरै उपभोक्ताले एउटै प्रश्न गरे- के अब तेल सजिलै पाइएला? वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र आयल निगमका उच्च अधिकारीहरूले यसमा आश्वस्त पार्न सकेनन्।

'भोलिदेखि त भन्न सकिँदैन, तर केही दिनमै आपूर्ति सहज बनाउने प्रयासमा लागेका छौं,' मन्त्री भट्टले नागरिकसँग भने, 'निगमका डिपोमा पर्याप्त तेल भण्डार गर्न नसकेकाले तत्काल आपूर्ति सहज गर्न गाह्रो छ।'

निगमका प्रवक्ता मुकुन्दप्रसाद ढुंगेलले बजार सामान्य अवस्थामा फर्कन एक सातासम्म लाग्ने बताए।

एक महिनाभन्दा बढी पेट्रोलियम अभाव चर्किएपछि सरकारले बुधबार पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यास गरी सबै इन्धनमा एकैचोटि भाउ बढाएको हो।

पेट्रोलमा लिटरको १० रुपैयाँ वृद्धि गरिएको छ भने डिजेल र मट्टीतेलमा ९ रुपैयाँ बढाइएको छ। ग्यासको भाउ प्रतिसिलिन्डर १ सय ७५ रुपैयाँ वृद्धि भएको छ। महिनाको पौने २ अर्ब रुपैयाँ घाटा खानुपरेकाले मागअनुरुप आपूर्ति गर्न नसकेको निगमले भन्दै आएको छ।

कुन तेल कहिलेसम्म सजिलै पाइएला?
निगमका अनुसार पेट्रोल र मट्टीतेल अर्को साताको सुरुसम्म सहज हुनसक्छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई आपूर्ति बढाउन आग्रह गरिसकेको ढुंगेलले जानकारी दिए।

डिजेलमा भने लोडसेडिङका कारण माग बढेकाले अभाव सच्चिन एक सातासम्म लाग्ने निगमले जनाएको छ। बढ्दो माग हेरेर १२ हजार लिटरभन्दा बढी डिजेल खपत गर्ने उद्योग व्यवसायले लागत मूल्यमा सिधै आइओसीबाट ल्याउनसक्ने निर्णय पनि गरिएको प्रवक्ता ढुंगेलले बताए।

सबभन्दा बढी समस्या एलपी ग्यासमा छ। सहरी क्षेत्रमा खाना पकाउन प्रयोग हुने यो इन्धन सजिलै पाउन कम्तीमा १५ दिन कुर्नुपर्नेछ। ढुंगेलका अनुसार आइओसीको बरौनी प्लान्टमा कच्चा तेल अभाव भएकाले त्यहाँबाट कम आपूर्ति भइरहेको छ। नेपालमा हल्दिया र बरौनी प्लान्टबाट ग्यास भित्रन्छ। आइओसीले हल्दिया प्लान्टबाट पनि पर्याप्त डेलिभरी दिएको छैन।

बुधबार हल्दियाबाट ८ सय ५० मेट्रिक टन मात्र लोड भएको निगमले जनायो। यो झन्डै ६० हजार सिलिन्डर हो। आइओसी प्लान्टमै आएको समस्याले जनवरी १ देखि १५ सम्म ५ हजार १ सय टन ग्यास मात्र आपूर्ति भयो, जबकि कम्तीमा ९ हजार टन भित्रिनुपर्ने थियो।

निगमको यो भनाइ पत्याउन सकिन्छ?
निगमले आपूर्तिको विषयमा पटकपटक उपभोक्तालाई झुक्याउँदै आएको छ। भोलि नै सहज हुन्छ भने पनि एक महिनासम्म पम्पहरूमा गाडीको लस्कर देखिन्छ। यसपटक पनि भनेकै अवधिभित्र आपूर्ति सहज हुन्छ कि हुन्न भन्ने कुरा निगमको मासिक घाटामा भर पर्छ।

बुधबारको मूल्य वृद्धिपछि पनि महिनाको ८६ करोड रुपैयाँ घाटा कायम रहेको निगमले जनाएको छ। आपूर्तिमन्त्री भट्टले तत्कालका लागि निगमको घाटा बराबर रकम सरकारले अनुदान दिने निर्णय भएको जानकारी दिए। त्यो रकम समयमै निकासा भएन भने फेरि निगमको घाटा खप्टिँदै जान्छ र उही पुरानै अवस्था फर्कनसक्ने प्रवक्ता ढुंगेलले बताए।
'सरकारले घाटा बराबरको रकम तिर्ने कुरा भएको छ, त्यो समयमै निकासा भयो भने सजिलो हुन्छ, होइन भने आपूर्तिमा फेरि अप्ठेरो पर्छ,' उनले भने। अन्तर्राष्ट्रिय बजारमा भइरहेको कच्चा तेलको नियमित मूल्य वृद्धिले पनि निगमलाई समस्या पारेको छ।

मूल्य वृद्धिपछि निगमलाई पेट्रोलमा ३ रुपैयाँ ७९ पैसा र मट्टीतेलमा १ रुपैयाँ ७३ पैसा नाफा छ। डिजेलमा भने लिटरमा १२ रुपैयाँ ९० पैसा घाटा छ। ग्यासमा अझै सिलिन्डरको २ सय ७६ रुपैयाँ ७२ पैसा नोक्सान रहेको निगमले जनायो।

मूल्य स्थिरीकरण कोष
आपूर्तिमन्त्री भट्टले मूल्य घढबढ हुँदा पर्ने प्रभावलाई ख्याल गरेर मूल्य स्थिरीकरण कोषको प्रस्ताव गरेको जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर निगमलाई नाफा भए त्यो बराबरको रकम उक्त कोषमा जम्मा हुनेछ। पछि घाटा पर्दा त्यही कोषबाट पूर्ति गर्ने गरी यस्तो प्रस्ताव गरिएको उनले बताए।

उनले निगमलाई व्यावसायिक संस्थाका रूपमा लैजान अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्नुपर्ने बताए। विद्यार्थी र विपन्न वर्गलाई सहुलियत दरमा पेट्रोलियम पदार्थ दिन एक महिनाभित्रै कार्यविधि ल्याउने तयारी भइरहेको उनले जानकारी दिए।

'हामी कार्यविधि बनाएर सहुलियत दरमा पेट्रोलियम पदार्थ दिने तयारी गर्दैछौं,' उनले भने, 'ग्यासमा औद्योगिक र घरायसी प्रयोजनको वर्गीकरण गरेर स्वचालित मूल्य समायोजन गर्नुपर्छ।'

मूल्यवृद्धि 'युद्धभन्दा गाह्रो'
आपूर्तिमन्त्री भट्टले तेलको मूल्य बढाउन युद्ध लड्नुभन्दा गाहो भएको प्रतिक्रिया दिएका छन्। 'तेलको मूल्य बढाउनु युद्ध लड्नुभन्दा गाह्रो भयो,' उनले भने, 'यहाँका राजनीतिककर्मी र कर्मचारीहरूको मनस्थिति बुझ्नै सकिएन।'

निगमले घाटा खाएर तेल कारोबार गर्नुलाई हास्यास्पद भन्दै उनले दुई महिनादेखिको लगातार लडाइँपछि मूल्य वृद्धि सम्भव भएको खुलासा गरे। निगमको भष्ट्राचार र अनियमितता हटाउँदै लगेको र कर्मचारी भर्तीसमेत बन्द गरेको उनले दाबी गरे।

'अहिले निगमबाट एक लिटर तेल पनि कसैले लिन पाएको छैन। मैलेसमेत लिएको छैन। एकजना व्यक्ति पनि भर्ती गरेको छैन,' उनले भने, 'सुधारका कामहरू भइरहेका छन्।'
वाणिज्यमन्त्रीले तेलको मूल्य वृद्धि गर्नुको विकल्प नभएको भन्दै प्रस्ताव लग्दा पनि प्रधानमन्त्री बाबुराम भट्टराईले सहमति नजनाएपछि निर्णय हुन सकेको थिएन। भट्ट मंगलबारको मन्त्रिपरिषद् बैठकमै नगएपछि प्रधानमन्त्री भट्टराईले बेलुकी भाउ बढाउने सहमति दिएका थिए।

मूल्य समायोजन गर्न समिति
वाणिज्य मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा उच्चस्तरीय मूल्य समायोजन समिति बनाउने प्रस्ताव गरेको छ। यो समितिमा अर्थ, वाणिज्य, उर्जा र गृह मन्त्रालयका सचिव रहनेछन्। समितिले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजनको सिफारिस गर्नेछ। अन्तर्राष्ट्रिय बजारमा भाउ आकासिए त्यसको प्रभाव कम गर्न मूल्यवृद्धि अतिरिक्त अन्य विकल्पको समेत सुझाव दिनेछ।



त्यसैले उर्जा बचाऊ आफै पहल गरम

source

Wednesday, January 18, 2012

पेट्रोलियम पदार्थको मूल्यवृद्धि

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ को मूल्यवृद्धि गरेको छ । उपभोक्ताले इन्धनको अभाव झेलिरहेका बेला निगमले मूल्यवृद्धि गरेको हो ।

खाना पकाउने ग्यासमा प्रति सिसिलण्डर १ सय ७५ रुपैयाँ, पेट्रोलमा प्रति लिटर १० रुपैयाँ तथा डिजेल र मटि्टतेलमा प्रति लिटर ९ रुपैयाँको दरले मूल्यवृद्धि गरिएको निगमका प्रवक्ता मुकुन्द ढुंगेलले ईकान्तिपुरलाई बताए । यसअघि खाना पकाउने ग्यासको प्रति सिलिण्डिर १ हजार ३ सय २५ रुपैयाँ रहेकोमा अब उपभोक्ताले १ हजार ५ सय तिर्नुपर्ने हुन्छ । त्यस्तै पेट्रोल प्रति लिटर १ सय ५ रुपैयाँ रहकोमा १ सय १५ रुपैयाँ पुगेको छ । ७६ रुपैयाँ प्रतिलिटर रहेकोमा डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ पुगेको छ ।

त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर १ सय रुपैयाँमा बढाएर १ सय ५ रुपैयाँ पुर्‍याइएको छ ।

पूरानो मूल्य अनुसार मासिक १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको थियो । महँगोमा किनेर सस्तोमा बेच्नुपर्दा भएको घाटा कम गर्न मूल्यवृद्धि गरिएको बताइएको छ ।

Monday, January 16, 2012

उर्जा ब्यबस्थापन (Energy Management)

उर्जा ब्यबस्थापन (Energy Management)ले उर्जा बचत को साथ पैसा को नि बचत गर्ने गर्दा छ
उर्जा ब्यबस्थापन भनेको कम्पनी घर को हरेक उर्जा सम्बन्दी कुरा लाइ अल्पकालीन र दिर्घकालिन रुप मा अफ्नो उर्जा लागत ,घटाउने लै भन्दछ |

उर्जा ब्यबस्थापन को आवस्यकता
  • - उर्जा को लागत घटाएर प्रतिस्पर्धी संसार बाट फाइदा लिन सक्नु को लागि
  • - राष्ट्रिय उर्जा खपत / माग लाइ पूर्ति गर्नु
  • - राष्ट्रिय व्यापार र अर्थ लै सुदृद गर्नु
  • - स्थानीय र संसार को राम्रो बातावरण को लागि
  • - स्वास्थ्य र सुरक्षा को लागि
  • - उच्च उदपादन को लागि
  • - उदपादन को स्तर बदाउन को लागि
-

Sunday, January 15, 2012

नया लोडसेडिङ तालिका


नया लोडसेडिङ तालिका

दैनिक साढे १२ घण्टा लोडसेडिङ

विद्युत् प्राधिकरणले भोलि (सोमबार)देखि दैनिक साढे १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । नदीहरूमा जलस्तर घटेर विद्युत् उत्पादनमा गिरावट आउँदा दैनिक ५५ लाख युनिट बिजुली अपुग भएपछि प्राधिकरणले लोडसेडिङ बढाएको हो ।
अहिले ऊर्जाको माग बढेर दैनिक १ करोड ५० लाख युनिट तथा आपूर्ति ९५ लाख युनिटमात्र भएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीले बताए । उनका अनुसार अब सातामा ८८ घण्टा लोडसेडिङ हुनेछ ।
लमहीबाट पश्चिम र पूर्वमा दैनिक ९÷९ घण्टासम्म लोडसेडिङ हुनेछ । आगामी सातादेखि मध्यमस्र्याङ्दी आयोजना मर्मतका लागि बन्द हुने भएकाले लोडसेडिङ अझ बढ्ने सम्भावना रहेको क्षेत्रीले बताए । प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक १० घण्टा बिजुली आपूर्ति गर्नेछ ।
क्षेत्रीका अनुसार रामनगर–गण्डकबाट २० मेगावाट र रक्सौल–परवानीपुरबाट १० मेगावाट बिजुली ल्याउन तयारी भइरहेको छ । भारततर्फको प्रसारण–लाइन मर्मत सकिएपछि दुई नाकाबाट बिजुली आयात गर्न सकिने उनले बताए । भारतबाट ३० मेगावाट बिजुली आयात हुने आशामा मध्यमस्र्याङ्दी बन्द नगरिएको हो । यो आयोजनाबाट ३५ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
भारतबाट थप बिजुली आयात नगरे र अन्य वैकल्पिक उपाय अवलम्बन नभए आगामी फागुन–चैतमा दैनिक १९ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ । भारतबाट पनि थप बिजुली आपूर्ति गर्न समय लाग्ने र थर्मल प्लान्ट तत्काल नआउने अवस्था आएपछि देशमा ऊर्जा संकट गहिरिएको छ ।
प्राधिकरणले गरेको प्रक्षेपणअनुसार माघमा ६२ लाख ८० हजार, फागुनमा ६५ लाख ४५ हजार र चैतमा ६३ लाख ४१ हजार युनिट बिजुली अपुग हुनेछ ।
लोडसेडिङले उद्योगी सबैभन्दा मारमा परेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका बताउँछन् । “एकातिर बिजुली छैन, अर्कातर्फ उद्योगसँग भएको जेनेरेटर चलाउन डिजेल पाइँदैन, कसरी उद्योग चलाउने हो, ठूलो समस्या छ,” उनले भने ।
मुरारकाका अनुसार कुल आपूर्तिको ३३ प्रतिशत बिजुली औद्योगिक क्षेत्रले खपत गर्छ । “अहिलेको माग हेर्दा ३ सय २५ मेगावाट बिजुली उद्योगलाई चाहिन्छ,” उनले भने ।

source

२०३० बाट पानी सकिँदै

सहर, उद्योग र खाद्यान्न उत्पादनजस्ता संवेदनशील क्षेत्रको आधार रहेको पानी आपूर्ति आगामी २०३० देखि रोकिने भएको छ । जमिनमुनिको पानी अधिक निकालिएकाले भारत, चीन र मध्यपूर्वलगायतका क्षेत्रहरूमा पानी अभाव हुने एक वैज्ञानिक अध्ययनले चेतावनी दिएको छ ।
“विश्वमा जमिनमुनीको पानीको प्रयोग व्यापक भएको छ । यो प्रयोग १९६० देखि २००० को अवधिमा प्रयोग गरिएको दरको दाँजोमा दोब्बरभन्दा पनि बढी छ,” नेसनल सेन्टर फर ग्राउन्डवाटर रिसर्च एन्ड ट्रेनिङका निर्देशक क्रेग सिमन्सले बताए ।
हालै गरिएको भू–उपग्रहको अध्ययनले अमेरिका, भारत, चीन, मध्यपूर्व पूर्वी र उत्तर अफ्रिकामा जमिनको पानी सकिँदै गएको देखाएको छ । यी क्षेत्रमा भएको कृषि र सहरहरूको विस्तारले पानीको माग बढेपछि पानी अभाव देखिन थालेको अध्ययनले देखाएको छ ।
“जमिनमा रहेको वर्तमान समयको पानी पृथ्वीमा उपलब्ध सबै ताजा पानीको ९७ प्रतिशत रहेको छ र हालको पानी आपूर्तिको झन्डै ४० प्रतिशत हिस्सा यही स्रोतले ओगटेको छ,” विश्वव्यापी धरातलीय पानीको शासकीय कार्यक्रमका एक सदस्य पनि रहेका सिमन्सले बताए ।
“धेरैले विश्व अर्थतन्त्रको प्रमुख बाहक मानिएको धरातलीय पानीको बारेमा केही पनि सोचेका छैनन्, यदि यो कम हुदै गएमा, समग्र उद्योगहरूले यात आफ्नो गतिविधि बन्द गर्न वा पूरै उद्योग नै बन्द गर्नका लागि बाध्य हुनेछ । पूरै क्षेत्रले अत्यन्त कठोर पानीको अभावको समस्या भोग्ने छन् ।”
“हामीले जमिनभित्रबाट निकाल्ने गरेको पानीको वातावरणीय प्रभाव पनि जटिल हुनेछ । यो विशेष गरी वातावरण तातेको अवस्थामा हुनेछ । पानीको सञ्चितिमा आएको कमीले ताल र नदीहरूलाई सुकाउनेछ र धरातललाई पनि सुख्खा बनाउने छ,” सिमन्सले बताए ।
मध्यपूर्वमा पानीको मुहान फुट्ने चट्टानबाट आउने पानीमा कमी आएपछि क्षेत्रको कृषि र धनी मुलुकहरूबाट हुने गरेको तथाकथित भूमि नियन्त्रण पनि अफ्रिकातर्फ सर्न थालेको छ ।
अमेरिकाजस्ता विकसित मुलुकहरूले पनि जमिनको पानी प्रयोगमा संकटको सामना गरेको एरिजोना विश्वविद्यालयका कानुन प्राध्यापक रोबर्ट ग्लेनोनले बताए ।
“जमिनको पानीले अमेरिकी आपूर्तिको झन्डै एकतिहाइ हिस्सा ओगट्ने गरेको छ र भन्डै आधाभन्दा बढी अमेरिकी पिउने पानीका लागि यही स्रोतम निर्भर हुने गरेका छन् । नयाँ इनार खन्ने काममा भएको निरन्तरताले अमेरिकी पानीको मुहान पनि सुक्दै गएका छन् । अमेरिकामा प्रत्येक वर्ष झन्डै ८ लाख नयाँ इनार खन्ने गरिएको छ,” उनले बताए ।

Friday, January 13, 2012

सोमबारदेखि दैनिक १४ घण्टा लोडसेडिङ

विद्युत प्राधिकरणले सोमबारदेखि लोडसेडिङ समय बढाएर दिनको १४ घण्टासम्म गर्ने भएको छ। जाडो समयसँग बिजुलीको माग ह्‍वात्तै बढेको र उत्पादन भने घटेकोले लोडसेडिङ बढाउनुपरेको प्राधिकरणले जनाएको छ।
हप्ताको तीन दिन १० घण्टा, दुई दिन १२ घण्टा र बाँकी दुई दिन १४ घण्टा लोडसेडिङ हुने तालिका प्राधिकरणले सार्वजनिक गरेको छ।

'सोमबारदेखि सातामा ८२ घण्टा घण्टा लोडसेडिङ गर्दैछौं,' प्राधिकरण प्रणाली सञ्चालन विभाग प्रमुख चिरन्जिबी शर्माले भने। बढी बिजुली चुहावट हुने स्थानहरुमा थप तीन घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार आइतबार, सोमबार र मंगलबार दैनिक १० घण्टा लोडसेडिङ हुनेछ। बुधबार र शनिबार १२/१२ घण्टा र विहीबार, शुक्रबार भने १४/१४ घण्टा लोडसेडिङ हुने जनाइएको छ।

अहिले सातामा ६९ घण्टा लोडसेडिङ भैरहेको छ। माघ ८ गतेदेखि प्राधिकरणले ७० मेगावाटको मध्यमर्स्याङदी जलविद्युत केन्द्र मर्मत थाल्दैछ। त्यतिखेरको लागि उपभोक्तालाई तयार पार्न प्राधिकरणले अहिलेदेखि नै लोडसेडिङ बढाएको हो। मध्यमर्स्याङदी तीन साताको लागि बन्द हुँदैछ।

source