Sunday, January 15, 2012

दैनिक साढे १२ घण्टा लोडसेडिङ

विद्युत् प्राधिकरणले भोलि (सोमबार)देखि दैनिक साढे १२ घण्टा लोडसेडिङ गर्ने भएको छ । नदीहरूमा जलस्तर घटेर विद्युत् उत्पादनमा गिरावट आउँदा दैनिक ५५ लाख युनिट बिजुली अपुग भएपछि प्राधिकरणले लोडसेडिङ बढाएको हो ।
अहिले ऊर्जाको माग बढेर दैनिक १ करोड ५० लाख युनिट तथा आपूर्ति ९५ लाख युनिटमात्र भएको प्राधिकरण प्रणाली सञ्चालन विभागका प्रबन्धक भुवनकुमार क्षेत्रीले बताए । उनका अनुसार अब सातामा ८८ घण्टा लोडसेडिङ हुनेछ ।
लमहीबाट पश्चिम र पूर्वमा दैनिक ९÷९ घण्टासम्म लोडसेडिङ हुनेछ । आगामी सातादेखि मध्यमस्र्याङ्दी आयोजना मर्मतका लागि बन्द हुने भएकाले लोडसेडिङ अझ बढ्ने सम्भावना रहेको क्षेत्रीले बताए । प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक १० घण्टा बिजुली आपूर्ति गर्नेछ ।
क्षेत्रीका अनुसार रामनगर–गण्डकबाट २० मेगावाट र रक्सौल–परवानीपुरबाट १० मेगावाट बिजुली ल्याउन तयारी भइरहेको छ । भारततर्फको प्रसारण–लाइन मर्मत सकिएपछि दुई नाकाबाट बिजुली आयात गर्न सकिने उनले बताए । भारतबाट ३० मेगावाट बिजुली आयात हुने आशामा मध्यमस्र्याङ्दी बन्द नगरिएको हो । यो आयोजनाबाट ३५ मेगावाट बिजुली उत्पादन भइरहेको छ ।
भारतबाट थप बिजुली आयात नगरे र अन्य वैकल्पिक उपाय अवलम्बन नभए आगामी फागुन–चैतमा दैनिक १९ घण्टासम्म लोडसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ । भारतबाट पनि थप बिजुली आपूर्ति गर्न समय लाग्ने र थर्मल प्लान्ट तत्काल नआउने अवस्था आएपछि देशमा ऊर्जा संकट गहिरिएको छ ।
प्राधिकरणले गरेको प्रक्षेपणअनुसार माघमा ६२ लाख ८० हजार, फागुनमा ६५ लाख ४५ हजार र चैतमा ६३ लाख ४१ हजार युनिट बिजुली अपुग हुनेछ ।
लोडसेडिङले उद्योगी सबैभन्दा मारमा परेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष पशुपति मुरारका बताउँछन् । “एकातिर बिजुली छैन, अर्कातर्फ उद्योगसँग भएको जेनेरेटर चलाउन डिजेल पाइँदैन, कसरी उद्योग चलाउने हो, ठूलो समस्या छ,” उनले भने ।
मुरारकाका अनुसार कुल आपूर्तिको ३३ प्रतिशत बिजुली औद्योगिक क्षेत्रले खपत गर्छ । “अहिलेको माग हेर्दा ३ सय २५ मेगावाट बिजुली उद्योगलाई चाहिन्छ,” उनले भने ।

source

No comments:

Post a Comment